राजतन्त्र माग्नेहरूको ‘चेतनास्तर’ देख्दा दया लाग्छ: ओली

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र पुनःस्थापनाको माग गर्नेहरूको ‘चेतनास्तर’ देखेर आफूलाई दया लाग्ने गरेको बताएका छन्। उनले आजको युगमा वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता भएको टिप्पणी गरे।

सोमबार बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता हो। दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन। यस्तो बेलामा नेपालमा राजतन्त्र पुनः स्थापनाको कुरा गर्नेहरुको चेतनाको स्तर देख्दा दया लागेर आउँछ।’

उनले भारत, चीन वा अमेरिकाजस्ता मुलुकहरू निर्वाचित जनप्रतिनिधिले चलाइरहेको र केही देशमा खुम्चिएर मात्र राजतन्त्र टिकेको उदाहरण प्रस्तुत गरे। संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको पनि बताए।

उनले सदनको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्न खोज्दा उनी जानीजानी सम्पर्कमा नआएको आरोप लगाए।

‘वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला। यस्तो व्यवहार सधैं चल्दैन,’ प्रधानमन्त्रीले भने, ‘भोलिदेखि सदन चल्छ, माननीयज्यूहरु तयार भएर बस्नुस्।’

सरकारले खास परिस्थितिबाट देशलाई अगाडि बढाउँदै बजेट प्रस्तुत गरेको भन्दै उहाँले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा राख्न सांसदहरुलाई निर्देशन दिनुभयो। मन्त्रीहरुलाई संसदीय गतिविधिलाई महत्व दिन पनि उहाँले सचेत गराउनुभयो।

अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरूले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उहाँले समाज थितिविधि, संविधान र कानुनबाट चल्नुपर्नेमा जोड दिनुभयो। सरकारको राम्रो काम नदेख्ने र असफलता खोज्ने प्रवृत्तिलाई उहाँले ‘घण्टाकर्ण’ को संज्ञा दिनुभयो। “सरकारको नेतृत्वमा भएकाले हामीमाथि केन्द्रित आक्रमण गरिएको छ जबकि देशलाई ओरालो लाग्ने कुरालाई रोकेका छौँ। सबै क्षेत्रमा राम्रा काम गरेका छौँ,” उहाँले भन्नुभयो, “हामी अझ प्रभावकारीरुपमा विकास र सुशासनका लागि अघि बढ्नेछौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार