काठमाडौँ : पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ युगमा नयाँ काम गर्ने पार्टी भएको दाबी गरेका छन्। मङ्गलबार (आज) कञ्चनपुरको बेलौरीमा पार्टीद्वारा आयोजित सुदूरपश्चिम प्रदेशको भाव सम्प्रेषण तथा दोस्रो भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘यो पार्टी भनेको अबको युगको नयाँ काम गर्ने अभियान हो,’ उनले भने, ‘नयाँ युगमा नयाँ काम गर्ने पार्टी हो यो।’
अगाडि उनले भने, ‘यो पार्टी हिजोको एमाले, कांग्रेस, माओवादी वा कुनै क्षेत्रीय र जातीय होइन। दुखीहरूको मुक्तिका लागि लड्ने पार्टी हो। बनाउँदा पनि पनि हामीले त्यसै भनेर साझा पार्टी बनाएका थियौँ। यहाँ माओवादी, कांग्रेस, एमाले छाडेर आएका मान्छेहरू छौँ, सामाजिक अभियन्ताहरू छौँ,’ उनले भने।
उनले नयाँ शक्ति युवाहरूको बाहुल्य भएको पार्टी भएको पनि बताए।





