काठमाडौं : जनकपुरस्थित रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन्।
ठगी कसुरमा उनलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वरुणकुमार सिंहले जानकारी दिए। ‘ठगी कसुरमा उनीविरुद्ध धनुषाकै सन्तोष यादवले उजुरी दिनुभएको थियो, सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो,’ डीएसपी सिंहले भने, ‘अहिले महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान हुँदैछ।’
पवनसँगै उनका बुवा बलराम महतोविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो। उनीहरुले आफ्नाे करिब १० करोड रुपैयाँ भन्दा धेरै ठगी गरेको भन्दै यादवले महतोविरुद्ध उजुरी गरेका प्रहरीले जनाएको छ।





