काठमाडौं : मोरङको विराटनगरमा टिपरको ठक्करबाट बुधबार दिउँसो एक जनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका-३ पञ्चेश्वर मन्दिरअगाडि दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार को१क ९५३ नम्बरको टिपरले प्र १-०२-०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो २:३० बजेतिर ठक्कर दिएको थियो। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको टिपरले उत्तरतर्फ नै जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको उनको भनाइ छ।
उनका अनुसार दुर्घटनामा परेर स्कुटरको पछाडि सवार सुन्दरहरैँचा नगरपालिका-१२ का अन्दाजी ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको छ। शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बजगाईंलाई उपचारका लागि बूढीगंगाको विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी इन्स्पेक्टर लम्सालले दिए।
दुर्घटनालगत्तै टिपर र चालक मोरङको कानेपोखरी गाउँपालिका-३ का ३३ वर्षीय कूलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।





