काभ्रेपलाञ्चोक : यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी संकलन गर्न लक्षित कृषि उपज संकलन तथा बजार केन्द्र स्थापना गरिएको छ।
रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी संकलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो। केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको २५ लाख रुपैयाँ र पाँचखाल नगरको नौ लाख रुपैयाँको साझेदारी गरिएको थियो।
पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट उत्पादन गरिएका तरकारी संकलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो। ‘केन्द्रमा संकलन गरिएका कृषि उपजको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौँ आपूर्ति गर्ने उद्देश्य राखेका छौँ’, खरेलले भने।
केन्द्रले नगरमा विषादीरहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकीले बताए। नगर कार्यालय र लवग्रीन नेपालद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायत बाली अग्र्यानिक हुँदै गएको जनाइएको छ।
केन्द्रमा १८ महिने आईपीएम कृषक पाठशालामा २२ थरिका आइपीएम प्रविधि अध्ययन गरेका एक हजार २०० अगुवा किसानले जैविक विषादी प्रयोग गरी उत्पादित तरकारी संकलन हुने अपेक्षा गरिएको छ।





