काठमाडौँ : सहरी विकासमन्त्री प्रकाशमान सिंहले रामेछापबाट निर्वाचित सांसद कान्छाराम तामाङप्रति आक्रोश पोखेका छन् ।
विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा मंगलबार प्रतिनिधिसभा बैठकमा उनले कान्छारामप्रति आक्रोश पोखका हुन् ।
उनले कुरै नबुझी कान्छारामले ठुल्ठुला कुरा गरेको आरोप लगाए । ‘रामेछाप जिल्लाकै कुरा गरौँ । माननीयज्यू (कान्छाराम)ले ठुल्लुलो स्वरमा चाहिँ कुरा गर्नुभएको छ’, उनले भने, ‘नेपालको कुल जनसंख्याको रामेछापमा ०.८ प्रतिशत जनसंख्या रहेको छ । सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ मा मन्त्रालयको कुल बजेटको ०.७ प्रतिशत, ६६ वटा कार्यक्रममा रामेछापका लागि ८४ करोड ४७ लाख बजेट विनियोजन गरेको छ ।’ उनले आफ्नो आलोचना गर्नुको औचित्य नरहेको सदनमा बताए ।





