काठमाडौँ : विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको बयान सुरु भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान दिइरहेका छन्।
पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ।
अख्तियारले दायर गरेका चारवटा कसुरमध्ये माधव नेपाललाई एउटा कसुरमा प्रतिवादी बनाइएको छ। पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न दिने र पछि बिक्री गर्न दिने निर्णय नीतिगत नभई प्रशासनिक प्रकृतिको भएको निष्कर्षसहित अख्तियारले नेपाललाई पनि कसुरदार बनाएर आरोपपत्र दायर गरेको हो।





