एकजुट भएमा कांग्रेसले बहुमत ल्याउन सक्छः सभापति देउवा

२०८२ असार १३, शुक्रबार

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस एक भएर लागेमा आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताएका छन्। चितवनको नारायणगढमा आज कांग्रेसका स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवि प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले यस्तो बताएका हुन्।

‘अहिले नेपालको सन्दर्भमा कुनै पनि दललाई बहुमत ल्याउन कठिन छ। नेपाली कांग्रेस एक भएर लाग्यो भने एक्लै बहुमत ल्याउन सक्दछ,’ उनले भने। देउवाले नेपाली कांगेसमा एकअर्काप्रति हराउन लाग्ने प्रवृत्ति बढी रहेको समेत सुनाए। ‘हाम्रो पार्टीमा एकअर्कालाई छेक्ने र टिकट लिएर आएपछि अर्को समूह हराउन लाग्छ,’ उनले भने, ‘यहाँ एकअर्कालाई रोक्ने आरोप छँदै छ।’ पार्टीले नै आफूलाई सभापति र प्रधानमन्त्री बनाएकाले आगामी दिनमा कांग्रेसलाई अझै राम्रो बनाउँदै लैजाने प्रतिबद्धता समेत उनले जनाए।

संसदमा कसैको पनि बहुमत नभएकाले कांग्रेसले कहिले माओवादी र कहिले एमालेसँग मिलेर सरकार बनाउनु परेको बताए। सभापति देउवाले अहिलेको संविधान उत्कृष्ट रहेकाले यसलाई बचाउन आवश्यक रहेको बताए। ‘अहिलेको संविधान राम्रो छ। समावेशी छ र समानुपातिक छ। यसले सबैको प्रतिनिधित्व गरेको छ,’ उनले भने, ‘नेपाली कांग्रेसले संविधानलाई बचाउनु छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार