काठमाडौँ : क्याप्टेन विजय लामाले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरेको विषयमा टिप्पणी गरेका छन् । उनले भण्डारी सक्रिय राजनीतिमा फर्किएको सुन्दा नमज्जा र दुःख लागेको उल्लेख गर्दै यो उनको साँघुरो सोच भएको पनि बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा फर्कन लागेको भन्ने सुन्दा साह्रै नमज्जा अनि दुख लाग्यो । यदि सत्य हो भने एक हैन दुई दुई काल राष्ट्रपति भएर बसिसक्नु भएको अनि सम्पूर्ण नेपालीको भैसकेको भन्ने महसुस भएन तपाइलाई ? कठै कस्तो साँघुरो सोच !’
उनले भण्डारीको निर्णयबाट अझै पनि नेपालीले आफ्नै राष्ट्रपति पाएको रहेनछ भन्ने थाहा भएको बताएका छन् । ‘फेरि खुम्चिनु लाग्नु भएको हो एउटा पार्टीको मात्र बनेर ? अब हामी सबैलाई थाहा भयो कि हामी नेपालीले हाम्रो आफ्नै राष्ट्रपति पाएका रहेन छौ भनेर !’
शनिबार मात्रै भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।










