काठमाडौं : सभामुख देवराज घिमिरेले संसदमा सहभागी दललाई संवाद र सहकार्यबाट दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन्।
संसद् दिवस, २०८२ को अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, संघीय संसदका वर्तमान र पूर्व सदस्य, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउन स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरेका हुन्।
संसद् दिवसको ऐतिहासिक अवसरमा संसदीय लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले राजनीतिक योद्धाको योगदानको स्मरण गरेका छन्। नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद् दिवस मनाइन्छ। आज लोकतन्त्र, संविधानवाद, जनताको अधिकार र जनप्रतिनिधिको उत्तरदायित्व स्मरण गर्ने दिन भएको सभामुख घिमिरेको भनाइ छ।
संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने प्रमुख संस्था भएको उल्लेख गर्दै उनले लोकतन्त्रको मूल आत्मा जनताको सहभागितामा निहित भएको बताए। सन्देशमा भनिएको छ, ‘शासन व्यवस्थामा नीति निर्माण, कानून निर्माण र कार्यान्वयनको प्रभावकारी निगरानीजस्ता महत्वपूर्ण कार्य संसदबाट सम्पन्न गरिन्छ, संसदले व्यवस्थापकीय कार्यविधिबाट जनताको अभिमतअनुरूप नीति र कानून सुनिश्चित गर्छ।’
उनले जनताको स्वीकृतिबिना कर नलगाइने लोकतान्त्रिक सिद्धान्तको सम्मान गर्दै संविधानले करसम्बन्धी सबै प्रस्ताव सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरे। उनले लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म संवाद, सहकार्य र सहमति भएको जनाउँदै विविध राजनीतिक दलहरूबीच विचार, दृष्टिकोण र प्राथमिकता फरक भए तापनि साझा राष्ट्रिय सरोकारका विषयमा दलीय सहमति आवश्यक र अपरिहार्य भएको बताए। संसद् वादविवादको नभएर संवादको थलो बन्नुपर्ने उनको भनाइ छ।










