
काठमाडौं : प्रहरीले नक्कली सुनका गहना धितोमा राखेर ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त बानेश्वरको टोलीले रामेछापकी दिलमाया मगरलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।प्रहरीका अनुसार, दिलमायाले एक सुनचाँदी पसलमा सक्कली बिल देखाएर नक्कली सुनका गहना धितोमा राखेर ११ लाख रुपैयाँ लिएकी थिइन् । मंगलबार प्रहरीले नक्कली सुन बोकेर थप रकम लिन आएका बेला उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट नक्कली सुनबाट बनाएका २८ थान तिलहरी, विभिन्न पसलका सुनका १६ थान बिल र दुई थान मोबाइल बरामद गरेको छ ।
प्रहरीको अनुसन्धानका क्रममा दिलमायाले प्रहरीको पोसाक लगाएर विभिन्न व्यक्तिलाई डर देखाउने गरेको पनि खुलेको छ । सुनचाँदी पसलेलाई समेत प्रहरी पोसाकमा रहेको फोटो देखाएर नक्कली सुन धितोमा राखेर रकम लगेको खुलेको छ ।