काठमाडौं : कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ ।
तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालले ८-० को जित निकालेको हो। नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १-१ गोल गरे । नेपालले दुवै हाफमा ४-४ गोल गर्यो । डिफेण्डर गीताले सातौं मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्राले २०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् ।
सावित्राले ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । दोस्रो हाफको ५४औं मिनेटमा गिताले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् भने ६२औं मिनेटमा निशाले हेडर गोल गरेपछि नेपाल ६-० ले अघि बढ्यो ।
७८औं मिनेटमा रेखा पौडेलले हेडर गोल गरिन् भने ८९औं मिनेटमा पुजा रानाले बक्समा डिफेन्डरले क्लियर नगरेको बललाई पोस्टको दिशा दिइन् । श्रीलंकाले भने खेलभर एउटा फितलो प्रहार बाहेक कुनैपनि मौका बनाउन सकेन ।





