काठमाडौँ : हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आईपीओ जारी गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
अब भने कम्पनीले कर्मचारीहरुलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते हुनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।





