काठमाडौँ : नेपाल सरकार र चिकित्सक संघबीच सहमति भएको छ । मंगलबार सहमति भएसँगै आजैबाट स्वास्थ्य सेवा सुचारु भएका छन् । कानुनी संशोधन गर्न सुझावसहित प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न विद्यमान कानूनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदललाई ७ दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको छ।
समितिको सदस्यमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव स्तरका प्रतिनिधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवस्तरका प्रतिनिधी रहनेछन्। कार्यदलबाट प्राप्त प्रतिवेदन तीनै जना मन्त्रि र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित यो वार्ता टोलीमा पेश गरिने र कार्यन्वयन गर्ने सहमती भएको छ।
नेपाल चिकित्सक संघ लगायतका संघ संस्थाहरुले सबै किसिमका आन्दोलनहरु आजैका मितिदेखि स्थगन गरी नियमित सेवा सुचारु गर्ने पनि सहमतीमा उल्लेख छ।






