काठमाडौँ : सरकारले रसुवामा गएको बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितले मंगलबार बाढी प्रभावित रसुवागढी क्षेत्रको अवलोकन गरेपछि साँझ सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो।
यो बैठकले बेपत्ताहरूको खोज र उद्धारलाई जारी राख्दै त्यसलाई अझ प्रभावकारी बनाउनेसहित विभिन्न निर्णहरु गरेको छ।
हेर्नुहोस् ६ बुँदे निर्णय
१. बेपत्ताहरुको खोज र उद्धारलाई जारी राख्दै अझ प्रभावकारी बनाउने।
२.जोखिमपूर्ण स्थितिमा खोज र उद्धारमा सम्लग्न सुरक्षाकर्मी र स्थानीय जनताप्रति धन्यवाद।
३.नेपाल–चीन जोड्ने भोटेकोशी नदीको मितेरी पुल र बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने।
४. सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिँदै चीनसँगका वैकल्पिक नाकाहरुको सुसञ्चालनको तयारी गर्ने।
५. क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै व्यवसायीका कन्टेनर, सवारी साधन र अन्य सामग्रीहरुको क्षतिको बीमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउने।
६. घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने।





