काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताएका छन् । बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)का विषयमा राजनीति भइरहेको भन्दै खेल नरोकिने बताए । ‘सरकारमा राजनीतिक दल नै आउने हो । सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो । कृषि हो भने कृषिको विकास हुनुपर्यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्यो । त्यहाँ राजनीतिक गर्नुभएन,’ ओलीले भने, ‘खेलमा हो भने खेलको विकास गर्नुपर्छ। खेललाई अगाडि लैजानुपर्छ। त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन । पोलिटिक्सका लागि ‘देयर इज नो स्पेस’। जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन खेलमा ध्यान दिनुपर्यो ।’
एनपीएलका सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घ (क्यान)बीच विवाद छ । एनपीएलको हिसाबकिताबका सबालमा दुई निकायबीच भइरहेको विवादबीच प्रधानमन्त्री ओलीले मन्त्री चौधरीलाई खेलकुदको विकासमा लाग्न निर्देशन दिएका हुन् । एनपीएलको कामहरू रोक्न दिएको निर्देशनमा आपत्ति जनाउँदै ओलीले क्यानलाई एनपीएलको तयारी तीव्र बनाउन आग्रह गरे ।
‘एनपीएलको भव्य तयारी गर्नुस् । यो हाम्रो नेशनल प्राइड हो । यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ । जसरी क्रिकेटको क्रेज बढेको छ,’ उनले भने, ‘देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ । यसको आयोजना गर्नुस् । यो खेलिनुपर्छ ।’ ओलीले कीर्तिपुर रङ्गशाला सानो भयो भनेर चित्त नदुखाउन क्रिकेट समर्थकहरूलाई आग्रह पनि गरे । उनले अहिले भइरहेको निर्माण पहिलो चरणको भएको र दोस्रो चरणमा निर्माण हुँदा थप विस्तार हुने बताए ।
‘कीर्तिपुर रङ्गशाला सानो भएर आत्तिनुभएन । यो निरन्तर विस्तार हुन्छ । धेरै जनाले हेर्ने बनाउँछौँ । अहिलेको त फस्ट फेजको काममात्र हो,’ उनले भने, ‘दोस्रो फेजमा अझ ठूलो विस्तार हुन्छ । अब यो क्रिकेट मैदानमात्र होइन, रंगशालामा परिणत भएको छ। राति खेल्न मिल्ने हुनेछ। यसलाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रूपमा विकास गर्दछौँ ।’





