कँडेलको निष्ठा बिपीसँग मिल्छ, कांग्रेस नेता तथा कार्यकर्ताले पछ्याउनुपर्छ : सभापति देउवा

२०८२ असार २८, शनिबार

बागलुङ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणीय रहेको बताएका छन्।

बागलुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका निष्ठावान नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औं दिनको पुण्यतिथिमा आज कांग्रेसले यहाँ आयोजना गरेको श्रद्धाञ्जलीसभामा उनले कँडेल बिपीको पथमा हिँड्ने निष्ठावान र इमानदार नेताका रूपमा रहेको उल्लेख गरे।

‘उहाँ संसाद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन, सधैँ जनताको पक्षमा वकालत गर्दै हिँड्नुभयो उहाँको निष्ठा बिपीसँग मिल्छ,’ देउवाले भने, ‘देश र राष्ट्रका लागि उहाँको योगदान अतुलनीय छ, नेपाली राजनीतिमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिने छ, उहाँको मार्गलाई अन्य कांग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक छ।’ उनले राजनीतिमा इमान र प्रतिष्ठा कमाएका कँडेलको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको भन्दै चिन्ता व्यक्त गरे।

प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको यही असार १५ गते आइतबार निधन भएको थियो। चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौं जाने तयारीमा रहेका उनको निधन भएको थियो।

विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमानदार नेताका रूपमा परिचित थिए।

बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्वसभापति थिए। विसं २०४६ आन्दोलनका क्रममा जेल परेका उनी बहुदलपछि जिल्ला सभापति र सांसद बनेका थिए। उनी विसं १९९५ पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार