काठमाडौं : धादिङको धुनीवेशी नगरपालिका– ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी पक्राउ परेका छन् ।
नागरिकता किर्ते गरेको आरोपमा सात महिनादेखि फरार रहेका सुवेदीलाई प्रहरीले शनिबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।सार्वजनिक किर्ते मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारेको आरोप छ ।
सोही जन्मदर्ताको आधारमा नागरिकता बनाएर जग्गा बिक्री गरेको अभियोगमा उनीविरुद्ध दर्ता भएको मुद्दा अहिले पनि जिल्ला अदालत धादिङमा विचाराधिन छ । काठमाडौँबाट पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको प्रहरीले जनाएको छ ।
सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तथा २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित भई वडा अध्यक्ष बनेका थिए ।





