काठमाडौँ : प्युठानमा पूर्वपतिले धारिलो हतियारले घाँटी रेटेर एक महिलाको हत्या गरेका छन्।
प्रहरी चौकी बड डाँडा प्युठानका अनुसार प्युठानको सरुमारानी गाउँपालिका वडा नं. ३ गोठेरीकी २८ वर्षीय रूक्मणी बरालको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो। ऐरावती गाउँपालिका वडा नं. २ कात्तिके बस्ने ३० वर्षीय लीला बहादुर बरालले मङ्गलबार बिहान सवा १० बजेको समयमा रूक्मणीको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक मिलन पाण्डेले मङ्गलवार बिहान स्थानीय डिला परियारको घरमा गई बसेको अवस्थामा लीला बहादुरले रूक्मणीको हत्या गरेको जानकारी दिए। प्रहरी निरीक्षक पाण्डेका अनुसार बिहान डिलाको घरमा पुगेका लीला बहादुरले सोही घरमा बसिरहेकी रूक्मणीमाथि एक्कासि चक्कु प्रहार गरी घाँटी रेटेर हत्या गरेका थिए। चक्कु प्रहारबाट रूक्मणीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लिला बहादुर र रूक्मणी पूर्वपतिपत्नी हुन्। रूक्मणीले लीला बहादुरलाई छोडेर गोठेरीका २७ वर्षीय दीपक परियारसँग विवाह गरेकी थिइन्। महिलाको हत्या भएको खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको कमान्डमा घटनास्थल पुगेको प्रहरी चौकी बड डाँडाको प्रहरी टिमले घटनास्थलबाटै लीलाबहादुरलाई नियन्त्रणमा लिएको थियो।





