काठमाडौँ : रूकुमपूर्वमा जङ्गली च्याउकाे तरकारी खाँदा दिदी भाइको मृत्यु भएको छ भने अरु दुईजना गम्भीर बिरामी परेका छन्। भूमे गाउँपालिका–५ सेराबाङमा निवासी राजकुमारी विकका ३ वर्षीय छाेरा योजन विक र ७ वर्षिया छाेरी भाग्यरेखा विकको विषालु च्याउकाे तरकारी खाँदा मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गम्भीर बिरामी भएका योजनको सल्यान जिल्ला अस्पतालमा र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएकाे हाे। च्याउकाे तरकारी खाँदा उनीहरुकी आमा ३५ वर्षीया राजकुमारी विक र राजकुमारीकी अर्की छाेरी ९ वर्षीया आयुषा विक गम्भीर बिरामी परेका छन्।
आयुषााकाे भेरी अस्पताल नेपालगञ्जमा र राजकुमारीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। साउन २ गते राति जंगलबाट ल्याएकाे च्याउकाे तरकारी खाएका उनीहरु बिरामी परेपछि तीन गते उपचारका लागि अस्पताल लगिएको थियो।









