काठमाडौं : विश्वको अगुवा इलेक्ट्रिक गाडी निर्माता बीवाईडी समूहले इटालियन फुटबल क्लब एफसी इन्टरन्यासोनाले मिलानो (इन्टर मिलान) सँग तीन वर्षे ग्लोबल अटोमोटिभ पार्टनरसिपमा प्रवेश गरेको छ। यो सम्झौता इलेक्ट्रिक मोबिलिटी र विश्व फुटबलको इतिहासमा उल्लेखनीय सहकार्य मानिएको छ।
बीवाईडी र इन्टर मिलानबीचको यो साझेदारीले नवप्रवर्तन, दिगोपन र विश्वव्यापी नेतृत्वप्रति साझा दृष्टिकोण साझा गर्छ। साझेदारीका अवसरमा इटालीको मिलानमा आयोजित कार्यक्रममा इन्टर मिलानका प्रमुख कार्यकारी जिउसेप्पे मारोट्टा, बीवाईडी का कार्यकारी उपाध्यक्ष स्टेला ली र इन्टरका राजस्व प्रमुख जिओर्जियो रिची सहभागी थिए।
कार्यक्रममा स्टेला लीले भनिन्, “बीवाईडीको सपना जलवायु परिवर्तन विरुद्ध लड्दै पृथ्वीको तापक्रम घटाउनु हो। इन्टर मिलान जस्तै हाम्रो कम्पनी पनि युवाशक्ति, जोश र जितको भावना लिएर अघि बढ्छ।” उनले थपिन्, “इन्टर मिलानसँगको सहकार्य हाम्रो ब्रान्डको लागि मात्र नभई, सम्पूर्ण विश्वभरका फुटबल प्रेमीहरूका लागि एउटा प्रेरणा बन्नेछ।”
इलेक्ट्रिक तथा प्लग–इन हाइब्रिड सवारी साधनमा द्रुत प्रगति गरिरहेको बीवाईडीले सन् २०२४ को पहिलो छ महिनामै २ मिलियनभन्दा बढी सवारी बिक्री गरिसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोहोरो अङ्कको वृद्धिदर हो।
यस साझेदारीअनुसार इन्टर मिलानका खेलाडी, प्राविधिक स्टाफ र उच्च व्यवस्थापनका लागि ७० वटा बीवाईडी सवारी साधन उपलब्ध गराइनेछ। साथै, बीवाईडीको प्रमुख मोडेल ‘SEALION 7’ को विशेष संस्करण इन्टर मिलानको रङ्गमा आधारित डिजाइनमा प्रस्तुत गरिनेछ, जुन पछि सीमित संस्करणमा समर्थकहरूले पनि खरिद गर्न सक्नेछन्।
इटालीदेखि चीन, दक्षिण अमेरिका हुँदै युरोपसम्म बीवाईडी र इन्टर मिलानको प्रशंसकहरूको उपस्थिति बलियो छ। विशेषगरी चीनमा इन्टरका १५४ मिलियन फ्यान छन् भने दक्षिण अमेरिकामा ९० मिलियनभन्दा बढी समर्थकहरू रहेका छन्, जुन क्षेत्र बीवाईडीको प्रमुख बजार हो।





