काठमाडौं : काठमाडौंमा भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२८ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनअगाडि स्कुटर बिजुलीको पोलमा ठोक्किँदा २५ वर्षीया समीक्षा रिजालको मृत्यु भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भई हाल काठमाडौँको वनस्थलीमा बस्दै आएकी रिजालले चलाएको बा. प्र. ०२-०३४५३४५८ नम्बरको स्कुटर बिहान करिब २:३० बजे अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो । कमलादीबाट घण्टाघरतर्फ जाँदै गर्दा भएको उक्त दुर्घटनामा उनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते रिजाललाई तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिए पनि उनको ज्यान बचाउन सकिएन । अस्पताल पुर्याएको केही बेरमै, करिब २:४५ बजे, चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।





