काठमाडौं : अत्यधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा तीन दिन विद्यालय बन्द गरिएको छ।
अत्यधिक गर्मी तथा प्रतिकूल मौसमका कारण पठनपाठनमा बाधा पुगेको भन्दै प्रतापपुर गाउँपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू आगामी तीन दिनका लागि बन्द गरिएको पालिकाले निकालेको सूचनामा उल्लेख छ।
पश्चिम नवलपरासीमा विगत लामो समयदेखि राम्ररी पानी पर्न सकेको छैन। गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवद्वारा जारी सूचनामा साउन ९ गते शुक्रबारदेखि साउन ११ गते आइतवारसम्म विद्यालय बन्द रहने जनाइएको छ। मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाइएको छ।
तीन दिनसम्म पनि मौसम अनुकूल नभएमा बिहानै कक्षाहरू सञ्चालन गर्ने वा अन्य वैकल्पिक व्यवस्था गरी पढाइ निरन्तरता दिन विद्यालयलाई अनुरोध गरिएको सूचनामा उल्लेख छ।





