मोरङ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति हुने गरी काम गर्नुपर्ने सुझाव दिएका हुन्।
कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेतासँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएकोले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पारे।
नेता कोइरालाले भने, ‘राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ, नत्र राजनीति धराप पर्छ।’ उनले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुन: राजनीतिमा आउन नरोकेको पनि स्पष्ट गरेका छन्। तर उनले आफ्नो विचारमा राजनीतिमा नफर्कनु राम्रो हुने धारणा रहेको उल्लेख गरेका छन्।
गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। एक प्रश्नको जवाफमा नेता डा. कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको समेत जानकारी दिएका छन्। एक फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समय विसं २०८२ मा हुने दाबी समेत उनको छ।









