चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : यादव

२०८२ श्रावण १५, बिहीबार

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसङ्कट देखिएको बताएका छन् ।

राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सरकारको गलत नीतिका कारण मधेस जलसङ्कटको समस्या भोगिरहेको आरोप लगाए । “चुरे विनाशका कारण मधेसका अन्नदाता किसान अहिले आफैँ त्राहिमाम अवस्थामा छन्”, उनले भने “चुरे विनाशले गर्दा उत्पन्न जलसङ्कट नै त्यसको प्रमुख कारण हो ।”

अन्तरराष्ट्रिय संस्थाहरूले धेरै वर्ष पहिले नै चुरे संरक्षण नगरे पानीको सङ्कट आउने भनी सचेत गराएको सुनाउँदै नेता यादवले त्यसविपरीत सरकारले गलत नीति अख्तियार गरी चुरेको दोहन जारी राख्दा अहिलेको तराई–मधेसमा समयमा वर्षा नहुँदा खेतीको समयमा पानीको अभावमा जमिन सुक्खा भएर सङ्कट उत्पन भएको आरोपसमेत लगाए ।

चुरे क्षेत्रको विनाश र त्यसकै नजिकबाट राजमार्ग निर्माण गरी बसोबासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलस्रोतको मुख्य आधारका रूपमा रहेको चुरेको विनाश हुँदै गएको उनको भनाइ थियो ।

“पहिले १०र१५ फिट खन्दा भेटिने जमिनमुनिको पानी अहिले ४०० फिट मुनि पनि भेट्न कठिन भइसकेको छ”, उनले प्रश्न गर्दै भने “यस्तै अवस्था रहने हो भने केही वर्षपछि समस्या कति विकराल बन्ला भन्ने कुरा सरकारले सोचनुपर्छ ?” जसपा अध्यक्ष यादवले अर्बौंको विदेशी सहायता आउँदासमेत सरकारले चुरेको संरक्षण नभएर मधेसमा मरभूमिकरणको खतरा बढेको उनले टिप्पणी गरे ।

मधेस मरूभूमिकरणतर्फउन्मुख भएको आरोप लगाउँदै अध्यक्ष यादवले मधेसमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै सङ्कटमा परेकाले बजेट संशोधन गरी वर्तमान समस्या समाधान गर्न आग्रह गरे । “जनसङ्ख्याका आधारमा बजेट ल्याउन माग गर्दै ४० प्रतिशत जनसङ्ख्यालाई ८९ प्रतिशत र मधेसको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, योभन्दा ठूलो विभेद के हुनसक्छ”, अध्यक्ष यादवले भने ।

जसपा नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए । तीन दिनसम्म चल्ने अधिवेशनले जिल्ला कार्यसमितिका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने तय भएको जसपा नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार