काठमाडौँ : वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको बिहीबार १०ः २० बजेसम्मको अद्यावधिक विवरण अनुसार सात राजमार्ग पूर्ण रूपमा र पाँच राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् ।
विवरणअनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाउँदा यातायात पूर्णरूपमा ठप्प छ । सोही जिल्लाको गोसाईकुण्ड–३ को पासाङल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ । यस्तै सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिका –२ कोदारी अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
यसैगरी, संखुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोसी राजमार्ग, बागलुङ नगरपालिका –१० दब्ल्याङस्थित कालिगण्डकी करिडोर, रुकुम पश्चिमको आठबीस नगरापालिका–६ रिजिगारमा भेरी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिका–५ हतारबाँसस्थित घोराही–रुकुम शहीद राजमार्गमा पहिरोले यातायात ठप्प छ ।










