तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ गीत सार्वजनिक

२०८२ श्रावण १७, शनिबार

काठमाडौँ । गायिका धनकुमारी थापा ‘सरु’ले हिन्दू महिलाहरू पर्व तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

हाँस्य कलाकार किरण केसी र दिपाश्री निरौला अभिनित उक्त गीतको श्रव्यदृश्य सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ गायक बमबहादुर कार्कीले गीतको अडियो र श्रव्यदृश्य पक्ष दुवै अब्बल रहेको बताए । उनले ‘अहिले समयअनुसारको गीत बनेको छ । पछिल्लो समय आइरहेको गीतका शैली र शब्दहरू समयअनुसार परिवर्तन भए पनि आफ्नो मौलिकता भने कायम राख्नुपर्छ, यो गीतले आफ्नो मौलिकपनसहित दर्शकको माया पाउनेमा विश्वस्त छु ।’

कलाकार केसीले गीतले सबैको मन जित्ने विश्वास व्यक्त गरे । उनले अभिनेत्री निरौलासँग गीतमा काम गर्न पाउँदा खुसी लागेको बताउदै श्रव्यदृश्य छायाङ्कन उत्कृष्ट बनेको बताए । ‘दीपा बहिनीसँग काम गर्दा मलाई सधैँ ऊर्जा प्राप्त हुन्छ । हामीले गीतको भावलाई श्रव्यदृश्यमा प्रस्तुत गर्न सक्दो मेहनत गरेका छौँ । यो रमाइलो माहोललाई व्यक्त गर्ने गीत बनेको छ’, उनले भने ।

अभिनेत्री निरौलाले गीतको शब्द, सङ्गीत र स्वरका कारण आफू अभिनय गर्न तयार भएको बताइन् । उक्त गीतमा गायिका थापासँगै मनोजसिंह धामीको स्वर रहेको छ । गीतमा धामीले शब्द र सङ्गीत दिएका छन् । प्रकाश भट्टले निर्देशन गरेको उक्त गीतको श्रव्यदृश्यलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार