काठमाडौं : रामहरि खतिवडाले प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका छन् ।
आज (मंगलबार) को प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्ने क्रममा खतिवडाले समतिकिो सभापतिबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले आफूले हाँसीहाँसी राजीनामा दिने घोषणा गरेको बताए । यो क्रममा उनले समितिको सभापतिको रुपमा काम गर्दा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवादसमेत ज्ञापन गरे । संघीय निजामती विद्येयकमा राखिएको कुलिङ पिरियडबारे भएको छेडखानीमा छानबिन समिति गठन भएको थियो ।
सो समितिको प्रतिवेदन आएपछि खतिवडाले आज समितिको सभापतिबाट राजीनामा दिएका हुन् । उनले समितिको प्रतिवेदनले आफूलाई राजीनामा दिन निर्देशन नगरेको र कुनै दोषी किटान नगरेको पनि स्मरण गराए ।





