काठमाडौं : आगामी शुक्रबारदेखि दुई प्रतीक्षित भारतीय फिल्महरू ‘कुली’ र ‘वार २’सँग एकसाथ रिलिज हुँदैछन् । रिलिजअघि नै विश्व बक्सअफिसमा ‘कुली’ले ‘वार २’भन्दा फराकिलो अग्रता लिएको देखिएको छ ।
रजनीकान्त स्टारर फिल्मले ऋतिक रोशन र जुनियर एनटीआरको फिल्मभन्दा ७० करोडभन्दा धेरै रकमको अग्रिम टिकट बिक्री गरेको छ । लोकेश कनगराज निर्देशित फिल्मले अहिलेसम्म विश्वभर ८५ करोड भारुको एड्भान्स टिकट बिक्री गरेको छ ।
बलिउड हंगामाको रिपोर्टअनुसार, रिलिजअघि नै फिल्मले विश्वभर अग्रिम टिकट बिक्रीबाट १०० करोड भारु कमाउने प्रक्षेपण गरिएको छ । विहिबारको रिलिजमा कीर्तिमान रच्न लागेको तामिल फिल्मका लागि यो अंक अभूतपूर्व हो ।
‘वार २’ले चाहिँ विश्व बक्सअफिसबाट अहिलेसम्म १५ करोड भारुको मात्र अग्रिम टिकट गर्न सकेको छ । जुन, स्टारकास्ट र हाइप भएको फिल्मका लागि न्यून आँकडा हो । विश्वभर ‘वार २’, अर्को फिल्म ‘कुली’भन्दा ७० करोडले पछाडि छ । अयान मुखर्जी निर्देशित फिल्मले यो अंकलाई उसको ओपनिङ डेमा पनि हासिल गर्न सक्ने देखिँदैन ।





