काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सबै खाले विभेद र असमानता हटाउन सशक्त संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार आयोजित दलित समुदायको हक अधिकारसम्बन्धी प्रचलित कानुनी व्यवस्थाको अध्ययनसम्बन्धी प्रस्तुति तथा छलफलमा उनले धेरै संरचना हुँदा काममा समन्वय भन्दा अन्योलता हुने भएकाले अब बन्ने कानुनमा सशक्त र शक्तिशालि संरचना बनाउनुपर्ने बताए । देशमा व्याप्त विभेद् र असमानता हटाएर गणतान्त्रिक व्यवस्थालाई अझ मजबुत बनाउनुपर्ने मन्त्री न्यौपानेको भनाइ थियो ।
दलितसम्बन्धी कानुन आवश्यक भएको र त्यसलाई चाँडो बनाउनुपर्ने भन्दै मन्त्री न्यौपानेले भने, “दलित अधिकारको सम्बन्धमा संविधानमा भएका व्यवस्था र प्रचलित कानुनको आधारमा ऐन बनाउछौँ ।” बन्न बाँकी ऐन र कानुनलाई जतिसक्दो चाँडो बनाउनुपर्नेमा मन्त्री न्यौपानेको जोड छ ।
उक्त कार्यक्रममा दलित अधिकारकर्मी सुशील विकेले दलित समुदायको अधिकारसम्बन्धी प्रचलित कानुनी व्यवस्थाको अध्ययनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।











