वासिङ्टन डिसी : अमेरिकाको मिशिगनको ग्रामीण क्षेत्रमा एउटा पिकअप ट्रकले स्टप साइनलाई बेवास्ता गर्दै एउटा भ्यानलाई ठक्कर दिँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटना स्थानीय समयअनुसार मंगलबार दिउँसो डेट्रोइटबाट लगभग १६० किलोमिटर उत्तरमा रहेको टस्कोला काउन्टीको गिलफोर्ड टाउनशिपमा भएको हो । दुबै गाडीमा १३ जना सवार थिए । यी मध्ये १० जना भ्यानमा थिए ।
भ्यानमा सवार सबै जना अमिश समुदायका मानिस भएको बताइएको छ । ट्रक र भ्यान ठक्कर खाएपछि यसमा सवार कयौँ मानिसहरू बाहिर खसेका थिए । यस दुर्घटनामा हालसम्म छ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अरू घाइतेहरूको अवस्था थाहा हुन सकेको छैन । भ्यान कता जाँदै थियो वा कहाँबाट आइरहेको थिए भन्ने कुरा पनि थाहा हुन सकेको छैन। यस दुर्घटनामा सात जनालाई अस्पतालमा भर्ना गरिएको छ, तिनीहरूको अवस्था अझै स्पष्ट नभएको बताइएको छ ।





