बाढीका कारण कवाडी खोला जलविद्युत पुर्णरूपमा क्षति, १२ सय घरधुरी प्रभावित

२०८२ श्रावण ३१, शनिबार

बाजुरा : जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्यामा आएको बाढिले कवाडी खोला लघुजलविद्युत आयोजनामा पूर्णरुपमा क्षती भएको छ। बाढिका कारण लघुजलविद्युत आयोजनामा क्षती पुग्दा यहाँका करिब १२ सय बढि घरधुरी प्रभावित बनेका छन्।

लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकका घर, खेती योग्य जमिन, पुल बगाएको थियो। बाढीले विद्युत्त गृह, नहर र विद्युतीय उपकरणमा क्षति पुग्दा सेवा अवरुद्ध भएको हो।

बाढीका कारण आयोजनामा पुर्णरुपमा क्षती पुग्दा गाउँपालिकाको वडा नं ४, ५ र ६ वडाका स्थानीय विद्युत्त सेवाबाट बञ्चित भएको गाउँपालिका अध्यक्ष गोविन्द्र मल्लले बताएका छन्। उनले भने, ‘बाढिका कारण कवाडी लघुजलविद्युत आयोजनामा ठुलो क्षती पुगेको छ। जसका कारण गाउँपालिकाका करिब १२ घरधुरी विद्युत सेवाबाट प्रभावित बनेका छन।’

बिच्छ्यामा ७ घर र कुवाडीमा ११ घर गरी १८ वटा घरमा पूर्ण रुपमा क्षती पुग्नुका साथै खेतीयोग्य जमिन समेत बगाएको अध्यक्ष मल्लले बताए। बाढीले स्थानीयका घर, सरकारी तथा निजि भवन, विद्यालय वडा नं १ को वडा कार्यालय भवन, बिच्छ्या मावि, बिच्छ्या स्वास्थ्य चौकी, झोलङ्गे पुल उच्च जोखिम तथा संरचनामा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) इकवाल हवारीले बताए ।

यता बाढीबाट प्रभावित पीडितहरुले तत्काल राहत तथा उद्दारको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। प्रभावित क्षेत्रमा गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको छ। अवलोकन पश्चात् पीडितको राहात, उद्धारमा जुटिएको हिमाली गाउँपालिकाले जनाएको छ।

यस्तै बाढीले स्थानीय आइ सिंह बोहराको पसल, बाख्रा खोर सहित ६० बाख्रा र भीमराज बोहराको बाख्रा खोर सहित १० बाख्रा बगाएर बेपत्ता भएका छन्। प्रशासन कार्यालय बाजुराले बाढीबाट प्रभावितलाई सुरक्षित रहन आग्रह गरेको छ।

बाढीबाट प्रभावित भएकाहरुलाई राहत र पुनःस्थापनाका कार्य क्षतिको पूर्ण विवरण आएपछि काम अघि बढाइने प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन्। उनले भने, ‘प्रहरीले बाढीबाट भएको क्षतीको विवरण संकलन गरी रहेको छ। शुक्रबारसम्म क्षतिको तथ्यांक आउँछ तत्पश्चात प्रक्रीया अघि बढाउने छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार