काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पद खुला प्रतियोगिताबाट पूर्ति गर्न योग्य नेपाली नागरिकलाई २१ दिनभित्र आवेदन दिन भनेको हो । आवेदन कार्यालय समयभित्र सिंहदरबारस्थित कृषि मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड÷संस्थान डेस्क) मा गोप्य सिलबन्दी गरी दिनुपर्ने सूचनामा उल्लेख छ ।
आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्टसम्म पनि दरखास्त दिन सकिने छ । निर्धारित मिति र समयभन्दा बाहिर आएका तथा रीत नपुगेको दरखास्त स्वीकृत नगरिने मन्त्रालयले जनाएको छ । अन्य थप जानकारीका लागि मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड/संस्थान डेक्स) मा सम्पर्क गर्न सकिने छ ।






