काठमाडौँ : आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डमा सर्वोच्च अदालतले गरेको परमादेशलाई न्यायको जीत भएको बताएका छन् ।
साहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै १९ वर्षदेखि न्यायको पर्खाइमा रहेका गौर नरसंहारका पीडितहरूमा आशा पलाएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “विगत लामो समयदेखि अनवरत सङ्घर्षरत एवं न्यायको पर्खाइमा रहेका विभत्स गौर नरसंहारका पीडितहरूमा न्याय पाउने आशा र विश्वास बढेर गएको छ । आजबाट निर्वाद रूपमा शीघ्र न्याय निरूपण भई दोषीहरू कानुनको दायरामा आउने विश्वास गर्दछु ।”
२०६३ साल चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी–निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाबिच भएको झडपमा माओवादी पक्षका २७ जनाको हत्या भएको थियो । सो घटनामा पीडितले प्रहरी अनुसन्धान अघि नबढाएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटलाई छानबिन अघि बढाउन परमादेश जारी गरेको हो ।






