काठमाडौं : अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पाकिस्तान सहिन्ससङ १ रनले पराजित भएको छ।
शुक्रबार डार्विनको मरार क्रिकेट मैदानमा पाकिस्तान सहिन्सले दिएको १४५ रनको लक्ष्य पाएको नेपालले ७ विकेट गुमाउदै १४३ रन मात्र बनाउन सक्यो। नेपालको लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ५२ रन बनाए। ५२ रन बनाउने क्रममा उनले ४ चौका र १ छक्का समेत प्रहार गरे।
नेपालका ओपनर कुशल भुर्तेल ४ रन बनाउँदै मैदानबाट बाहिरिएका थिए। त्यस्तै, अर्को ओपनर आशिफ शेख २९, गुल्शन झा ३ रन बनाउँदै आउट भए। त्यस्तै, लोकेश बम २० र कुशल मल्ल २ रन बनाउदै आउट भए। नेपालका दीपेन्द्र सिंह ऐरि र आरिफ शेख नटआउट रहे। अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिए पनि ६ रनमात्र बनाउन सक्यो ।
यसअघि डार्विनको मरार क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको थियो । पाकिस्तानका लागि अब्दुल समादले २७ र यासिर खानले १८ रन बनाए । क्याप्टेन इरफान खानले नटआउट ४२ र मोहमद वासिमले २३ रनको योगदान गरे ।





