काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा चेल्सीले पहिलो जीत हात पारेको छ । चेल्सीले शनिबार बिहान सम्पन्न आफ्नो दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी वेस्ट हाम युनाइटेडलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
जितसँगै चेल्सी अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । यसअघि आफ्नो पहिलो खेलमा क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको थियो । चेल्सीविरुद्धको खेलमा सुरुवाती अग्रता भने वेस्ट हामले लिएको थियो । खेल शुरू भएको छैटौँ मिनेटमै वेस्ट हामका लागि लुकास पाक्वेटाले गोल गरेका थिए । त्यसपछि भने चेल्सी लयमा फर्किएको थियो । निर्धारित समयको १५औँ मिनेटमा चेल्सीका लागि जाओ पेड्रोले बराबरी गोल गरेका थिए ।
निर्धारित समयको २३औँ मिनेटमा चेल्सीका लागि पेड्रो नेटोले दोस्रो गोल गरेका थिए । ३४औँ मिनेटमा एन्जो फर्नान्डेजले तेस्रो गोल थपेपछि पहिलो हाफमा चेल्सीले ३–१ को अग्रता बनाएको थियो । खेलको दोस्रो हाफमा पनि चेल्सीले विपक्षीको पोष्टमा दुई गोल गर्यो । निर्धारित समयको ५४औँ मिनेटमा चेल्सीका लागि मोइसेस काइसिडोले चौथो गोल गरेका थिए ।
चेल्सीका लागि पाँचौँ गोल भने ५८औँ मिनेटमा ट्रेभो चालोबाले गरेका थिए । लगातार दुई खेलमा पराजित भएको वेस्ट हाम अंक तालिकामा सबैभन्दा तल छ ।











