काठमाडौं : प्रधान सेनापति महारथी अशोकराज सिग्देल भोलि भदौ ९ गते थाइल्याण्ड जाने भएका छन् ।
यही भदौं १० गतेदेखि १२ गते रोयल थाइ आम्र्ड फोर्सको सहकार्यमा अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डद्वारा थाइल्याण्डको हुवा हिनमा आयोजना हुन लागेको चिफ्स अफ डिफेन्स कन्फिरेन्समा सहभागी हुनका लागि उनी थाइल्याण्ड प्रस्थान गर्न लागेका हुन् ।
२०५६ सालदेखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको उक्त कन्फिरेन्समा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखहरूबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरूमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछ भने सहभागी राष्ट्रहरूका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रधान सेनापति सिग्देललाई थाइल्याण्ड प्रस्थान गर्नु पूर्व आज नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको छ । प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मलकुमार थापाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने जंगी अड्डाले जनाएको छ ।







