काठमाडौं : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–२ नारायणी पुलमा आइतबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय मुनाल दाहालको उपचारका क्रममा मृत्यु भएको हो । दाहाल गैंडाकोट–४ बस्ने रौतहट चन्द्रनिगाहापुर–२ घर भएका हुन् । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको विराटनगर–१४ आईसिपि रोडमा आइतबार साँझ साइकल अनियन्त्रित भई दुर्घटना हुँदा जहदा गाउँपालिका–३ बस्ने ४१ वर्षीय रूपेश कुमार राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको कोशी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । मोरङकै बेलबारी–१ सिसौली चोकमा शनिबार राति सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएकी ५० वर्षीया टिकामाया श्रेष्ठको आइतबार साँझ न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालक प्रहरी नियन्त्रणमा छन् ।
दाङको गढवा गाउँपालिका–३ धैरेनीमा आइतबार राति अटोमा ट्याक्टर ठोक्किँदा ५५ वर्षीय बलबहादुर थापाको मृत्यु भएको छ । घाइते थापालाई सिसहनिया अस्पताल पुर्याइएको थियो । सो दुर्घटनामा अटोमा सवार अन्य दुई जना घाइते भएका छन् । हाल फरार ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बाराको कलैया–२३ सिसहनिया चोकमा आइतबार राति टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा चालक ३४ वर्षीय उपेन्द्र राउत कुर्मीको मृत्यु भएको छ । घाइते कुर्मीलाई उपचारका लागि एलएस न्यूरो अस्पताल पुर्याइएकोमा बचाउन नसकिएको प्रहरीले जनाएको छ । फरार सुमो चालकको खोजी भइरहेको छ ।
बाँकेको नेपालगंज–२० मा आइतबार राति हाइस र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार २९ वर्षीय सरोज मुक्तानको मृत्यु भएको छ । दुर्घटनामा घाइते अन्य दुई जनाको उपचार नर्सिङ होम नेपालगंजमा भइरहेको छ । फरार हाइस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





