काठमाडौँ : सुनसरी र नुवाकोटमा भएका सवारी दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपुर चोकस्थित सडकमा को.१ ह ६०१९ नम्बरको अटो र को.३७ प ७९८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय सन्दिप मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–२ काउलेस्थित सडकमा बा.प्र.०२–०५५ प ५१४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा चालक इलाम माईजोगमाई गाउँपालिका–५ बस्ने ४५ वर्षीय किरण राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिन सिटी अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो ।





