काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाने कार्यतालिका सार्वजनिक भएको छ ।
प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ वार्षिकोत्सवमा सहभागिता जनाउन यही भदौ १४ गते चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्रीसँगै उहाँकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र उच्च पदस्थ सरकारी अधिकारीहरू चीन जानेछन् ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री ओलीले भदौ १७ गते बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली भदौ १८ गते चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा बेइजिङमा आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।





