काठमाडौँ : फिल्म ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार फिल्मका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । फिल्म मंसिर १२ गते रिलिज हुँदैछ ।
सार्वजनिक दुबै पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ललाई सिनेमाको नामझै हर्षित भावमा अर्थात मिठो मुस्कानमा देख्न सकिन्छ भने सन्तोष पन्तलाई केही असन्तुष्ट भावमा छड्के हेराइ हेरिरहेको देख्न सकिन्छ ।
यो पोस्टरमा खगेन्द्र र वर्षालाई छोरासँग रमाइरहेको देखिन्छ । छोराको भूमिका गर्ने बालकलाकार साइमन वादी हुन् । यसैगरी दोश्रो पोस्टरमा खगेन्द्र र वर्षालाई पहिलो पोस्टरमा झैं मीठो मुस्कानमा देख्न सकिन्छ भने नेपथ्यमा सम्भवतः सिनेमाको गीतको दृश्य हुनुपर्छ जहाँ सन्तोष पन्तको साथमा विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ तथा अंशु महर्जनलाई नाचिरहेको–रमाइरहेको देख्न सकिन्छ ।
यो पोस्टरमा बालकलाकार साइमनलाई बाल कृष्णको पहिरनमा पेस गरिएको छ । यस्तै, अभिनेता नीर शाहलाई गम्भिर भावमा देख्न सकिन्छ । सार्वजनिक यी दुई पोस्टरले पारिवारिक जीवनका उकाली ओरालीको कथा पेस गर्ने स्पष्ट बुझ्न सकिन्छ । यस हिसाबले धेरै समयपछि दर्शकहरुको पारिवारिक ड्रामा हेर्न पाउनेछन् ।
डेब्यू निर्देशक एकता पौडेलले आफ्ना दिवंगत मामा निर्देशक शिव रेग्मी– जो पारिवारिक सिनेमाका लागि परिचित छन् उनकै विरासत समातेको बुझ्न सकिन्छ । यसअघि टाइटल भिडियो पनि उनले आफ्ना मामालाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन ।





