भिड बढेपछि कारागारले मलाई जबर्जस्ती निकालेको हो : रवि लामिछाने

२०८२ भाद्र २५, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागारबाट आफू स्वेच्छाले निस्केको नभई कारागारले जबरजस्ती निकालेको प्रस्टीकरण दिएका छन्।

मंगलबार नख्खु कारागारबाट निस्केका रविले ‘बिनापत्र जान्नँ’ भनेको र उनीहरूले जस्तो पत्र दिए त्यस्तै सार्वजनिक गरिसकेको पनि स्पष्ट पारेका छन्। एउटा भिडिओ क्लिप सार्वजनिक गरी उनले पुनः कारागार जान तयार रहेको पनि बताएका छन्। निकै आक्रामक शैलीमा प्रस्तुत भएका रविले आफू सरकारमा जाने दौडमा नरहेको र देशमा नागरिक सर्वोच्चताको पक्षमा रहेको अडान पनि प्रस्तुत गरेका छन्।

लामिछानेले भने, ‘कारागारबाट मैले निस्कन चाहेको होइन। भीड बढेपछि कारागारले जबरजस्ती बाहिर निकालेको हो। म विना पत्र जान्न भनेको हुँ।’ उनका अनुसार यसबारे कारागार प्रशासनले दिएको पत्र समेत सार्वजनिक गरिसकेका छन्। उनले सुरक्षा निकायका प्रमुखसँग सम्पर्क गरेको दाबी गर्दै भने, ‘मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई भनिसकेको छु, मलाई नियन्त्रणमा लिनुहोस् वा कारागार पठाउनुहोस्। तर उहाँहरूले आफैं सुरक्षित बस्न भने।’

लामिछानेले आफू कुनै सरकार बनाउन वा राजनीतिक दौडमा नरहेको स्पष्ट पारे। उनले भने, ‘म यो रेसमा छैन। मलाई कुनै राजनीतिक लाभ चाहिएको छैन। तर लोकतन्त्र, नागरिक सर्वोच्चता, मानवअधिकार र सुशासनमा म दह्रोसंग उभिन्छु।’ उनले यो आन्दोलन जेन–जेडको भएको पनि दोहोर्‍याए। झुठा मुद्दा अझै खेलाइरहेको भन्दै उनले आफू कानुनी प्रक्रियाबाटै अघि बढ्ने बताए।

‘जनताले ओली–देउवालाई खेदे तर तिनले लगाएको झुठो मुद्दा अझै मेरो टाउकोमा छ,’ उनले भने, ‘सुरक्षा दिन नसक्ने निकायले आफैं सुरक्षित बस भन्छ, कारागारले बाहिर निकाल्छ। यस्तो अवस्थामा के म बाँच्न पाउने कि नपाउने भन्ने प्रश्न छ।’ लामिछानेले अन्त्यमा भने, ‘यो देश रहनुपर्छ। स्वाधीन, स्वाभिमानी र सार्वभौम रहनुपर्छ। नागरिक सर्वोच्चता कायम रहनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार