काठमाडौं : नख्खु कारागार प्रशासनले कारागारबाट निस्किएका सबै कैदीबन्दीलाई फर्कन आह्वान गरेको छ ।
रास्वपा सभापति रवि लामिछानेले भदौ २४ गते दिउँसो नख्खु कारागारबाट बाहिर आएर सोही दिन साँझ फेसबुक लाइभमा आउँदै उनले आफूलाई प्रक्रिया पुर्याएर कारागारले नै छाडेको दाबी गरे। त्यसको पुष्टि गर्न एउटा पत्र पनि सार्वजनिक गरे।
नख्खु कारागार कार्यालयको ‘लेटर हेड’मा जारी गरिएको पत्रको विषय ‘जो जससँग सम्बन्ध छ’ भनेर उल्लेख गरिएको थियो। व्यहोरामा पनि रास्वपाले भन्दैआएको ‘राजनीतिक प्रतिशोध’को विषयलाई जोड दिन खोजिएको छ। सँगै ‘न्यायको प्रत्याभूति आवश्यक भएको’ भन्ने आशय उल्लेख गरेर ‘मास सेन्टिमेन्ट’ बटुल्न खोजेको छ।
‘देशमा अमनचयन कायम गर्न न्यायको प्रत्याभूति आवश्यक भएकोले गोरखा मिडियासँग सम्बन्धित विषयलाई सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दामा हाल थुनामा रहनु भएका मा.(माननीय) रवि लामिछानेलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ,’ पत्रको व्यहोरामा भनिएको छ, ‘मुद्दा फिर्ता गर्ने कानुनी प्रक्रियामा समय लाग्ने भएको र सो अवधिमा थुनामा राखिराख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुनामुक्त गर्न निर्णायानुसार जानकारी गराइन्छ ।’ यस्तै ‘मुलुकमा व्याप्त परिस्थितिलाई मध्यनजर गर्दै मा. लामिछानेले रिहा हुन मन्जुर गर्नु भएको श्रीमान गृह सचिव ज्यूको आदेशानुसार व्यहोरा अनुरोध छ’ भनेर पनि पत्रमा उल्लेख छ।
पत्र कारागार प्रशासक सत्यराज जोशीद्वारा जारी गरेको भनेर हस्ताक्षर छ। जसको बोधार्थमा काठमाडौं जिल्ला अदालत, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी बल नं. २१ गण र प्रतिवादी सुरेन्द्र राईलाई राखिएको छ। पत्रको व्यहोरा र बोधार्थ सूची नै आश्चर्य लाग्ने र प्रथम दृष्टिमै फर्जी लाग्ने खालको छ।
पत्रको आधिकारिकताबारे शुक्रबार नख्खु कारागार प्रशासनसँग बुझ्न खोज्दा उक्त पत्र आधिकारिक नभएको पाइएको छ। ‘त्यो व्यहोराको कुनैपनि पत्र आधिकारिक रूपमा हाम्रो कारागारबाट जारी भएको छैन,’ कारागारस्रोतले भन्यो। ‘हुलमुलमै जारी भएको पो हो कि?’ भन्ने प्रश्नमा कारागार प्रशासनले पत्रको व्यहोरा मात्र नभई हस्ताक्षर पनि नक्कली भएको प्रतिक्रिया दिए।






