जनार्दन शर्माले मागे प्रचण्डको राजीनामा

२०८२ भाद्र ३१, मंगलवार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेका छन् ।

पार्टीभित्र रुपान्तरणको कुरा गर्दै आएका शर्माले जेनजी आन्दोलनपछि नेतृत्वको औचित्य नरहेको भन्दै प्रचण्डको राजीनामा मागेका हुन्। पार्टीका शीर्ष नेताहरूको कार्यशैली र जीवनशैलीमा प्रश्न उठाउँदै आएका शर्माले जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेको बताएका छन्। उनले देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोल्ने अवसरको रूपमा यसलाई लिनुपर्ने बताएका छन् ।

शर्माले पार्टीभित्र सम्पत्ति छानबिनको मागलाई कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने विचार व्यक्त गरेका छन् । साथै, उनले विगतदेखि पार्टीमा उठाएका मुद्दाबारे पुनः पार्टी पंक्तिमा छलफल गर्न आग्रह गरेका छन् । शर्माले गत साउनमा बसेको केन्द्रीय समिति बैठकमा पनि प्रचण्डमाथि प्रश्न उठाएका थिए, तर त्यसलाई बहुमतले अस्वीकृत गरेको थियो।

यस्तै, शर्माले वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जानको लागि वातावरण बनाउनुपर्ने पनि बताएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गराउने निर्णय गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार