काठमाडौं : सुनसरीमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गस्थित सुनसरीको कोसी गाउँपालिका–१ को खुनिया पुल नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।
प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् । उनीहरूको पहिचान खुलेको छैन । मृतक पुरुषको जिल्ला अस्पताल इनरुवा सुनसरीमा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुनेहरूमा सप्तरी रुपनी-९ का २५ वर्षीय प्रकाश सरदार, उनकी श्रीमती वर्ष ३० वर्षीया पुनम सरदार, सप्तरीको खड्क नगरपालिका-५ का ५० वर्षीया ज्ञानदेवी चौधरी, सिरहाको धनगढी माई नगरपालिका(३ बस्ने ५२ वर्षीया बानेश्वरी देवी चौधरी सोही ठाउँका ३५ वर्षीया केसीदेवी चौधरी रहेका छन् ।
यसै गरी सिरहा धनगढी माई नगरपालिका १ बस्ने वर्ष ५५ की शान्तिदेवी चौधरी, सप्तरी खड्क नगरपालिका बस्ने वर्ष ४० को दिनेशकुमार चौधरी उनकी श्रीमती वर्ष ३६ की चन्द्रिका चौधरीको, लहान नगरपालिका १ बस्ने वर्ष ५० प्रभानन्द चौधरी र सप्तरी सुरुङगा नगरपालिका ९ बस्ने वर्ष ३६ को पुरुषोत्तम चौधरी पनि घाइते भएका छन् ।





