काठमाडौँ : जेन-जी आन्दोलनको क्रममा भएको उथलपुथलको मौका छोपी ललितपुरको नख्खु कारागारबाट भागेका एक कैदीले घर पुगेर आफ्नै श्रीमतीको हत्या गरेका आशंका गरिएको छ।
जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सन्तबहादुर तामाङले श्रीमती मनीषा घेवा तामाङको हत्या गरी शव घर नजिकैको बारीमा गाडेको अवस्थामा फेला परेको पनौती-१२ का वडाध्यक्ष जयराम केसीले जानकारी दिए।
यद्यपि हत्या सन्तबहादुरले गरेको भनेर प्रहरीले आधिकारिक पुष्टि गरिसेको छैन। काभ्रेको पनौती नगरपालिका–१२, गागलकी करिब ३० वर्षीया मनीषा विगत तीन दिनदेखि बेपत्ता थिइन्। आफन्त र स्थानीयले खोजी गर्ने क्रममा घर नजिकैको बारीमा खनिएको नयाँ खाल्डो र छेउमा चप्पल फेला पारेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए।





