काठमाडौं : काठमाडौंमा भएका दुई दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन्। स्वयम्भू र टेकुमा दुर्घटना भएको हो।
काठमाडौं महानगरपालिका–१५, स्वयम्भू कारखाना चोकस्थित सडकमा ना.७ ख ५२३२ नम्बरको ट्यांकरको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका–१७ बस्ने ८० वर्षीय विजय मान सैंजुको मृत्यु भएको छ ।
आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा आइतबार बेलुकी मृत्यु भएको हो । ट्यांकरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका–१२, टेकुस्थित सडकमा बिएई ३४६६ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।










