ओलीको राहदानी रोक्का गर्ने सरकारको निर्णय प्रतिशोध : प्रेस चौतारी

२०८२ आश्विन १५, बुधबार

काठमाडौं : नेकपा एमाले निकट प्रेस चौतारी नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको राहदानी रोक्का गर्ने निर्णयलाई ‘मिडिया ट्रायल’ गरिएको जनाएको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले प्रेस विज्ञप्तिमार्फत सरकारले प्रतिशोध र पूर्वाग्रहका आधारमा यस्तो कार्य गरेको आरोप लगाएका छन् । यसअघि, एमाले निकट राष्ट्रिय युवा सङ्घले पनि विज्ञप्ति जारी गर्दै ओली र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथिको प्रतिशोध अस्वीकार्य हुने चेतावनी दिएको थियो ।

अध्यक्ष क्षितिज थेवेले सरकारलाई प्रतिशोधपूर्ण कार्य नगर्न र यस्ता कदम प्रत्युत्पादक हुनेतर्फ सचेत गराएका थिए । प्रेस चौतारीले सरकारको दोहोरो चरित्रमाथि प्रश्न उठाउँदै राहदानी रोक्का र भदौ २४ को हिंसात्मक घटनामा संलग्न दोषीहरूलाई कारबाही नगर्ने निर्देशनले विधिको शासनमाथि हस्तक्षेप भएको ठहर गरेको छ ।

उसले अपराधीको मनोबल बढाउने कार्य रोक्न र प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन माग गरेको छ । साथै, जेनजी आन्दोलनको मागप्रति संवेदनशील बन्न र निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह गरिएको छ । प्रेस चौतारीले भदौ २३-२४ को घटना छानबिन गर्ने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनको राजीनामा मागेको छ । भदौ २३ को गोली प्रहार र २४ को हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार