काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा आफ्नो आर्थिक अवस्थाबारे उठेका प्रश्नको जवाफमा स्पष्टीकरण दिएका छन् ।
मन्त्री पुनले आफ्नो र परिवारको खर्च लामो समयदेखि साथीहरू र शुभचिन्तकहरूले व्यहोरिदिएको बताए । फेसबुकमार्फत उनले भने, ‘मन्त्री भए पनि मेरो र श्रीमती, छोरीहरूको खर्च साथीहरूले पुर्याइदिन्छन् । मलाई ढुक्क छ ।’ उनले मन्त्रीको तलब र भत्ता नलिएको पनि प्रष्ट पारे ।
पुनले ३२ वर्षअघि अमेरिकाबाट फर्किएर ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट विस्तार गरेको स्मरण गरे । पछिल्लो सात वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरी युवाहरूलाई नवप्रवर्तनको अवसर प्रदान गरेको, कोरोना महामारीमा निःशुल्क औषधि वितरण गरेको र ३० वर्षदेखि बन्द वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न जनताबाट करोडौं सहयोग प्राप्त भएको उनले उल्लेख गरे ।
यी कार्यले जनताको विश्वास आर्जन गरेको उनको भनाइ छ। यात्रा खर्चसमेत आफैँले बेहोर्दै आएको बताउँदै मन्त्री पुनले थप जानकारीका लागि आफ्नो आत्मकथा पढ्न सुझाए। उनले जनतासँग पारदर्शी र जवाफदेही रहने प्रतिबद्धता व्यक्त गरे।










