काठमाडौं : उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीसँग आफ्नो कुनै आबद्धता नभएको प्रस्ट पारेका छन्।
शुक्रबार फेसबुकमा अभिव्यक्ति दिँदै घिसिङले प्रचार गरिएजस्तो उक्त पार्टीसँग आफ्नो आबद्धता नभएको बताउँदै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्जाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ घिसिङले लेखेका छन्, ‘सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन।’
प्रचार गरिएजस्तो जुम बैठकमा पनि आफ्नो सहभागितासमेत नरहने उनले प्रस्ट पारेका छन्। ‘मसँग कुनै छलफल/सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु।’
उनले आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।









